काठमाडौं– नेपालीले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाँदा पाउने विदेशी मुद्रा सटही सीमा बढेको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने कामदारबाहेक अन्यलाई हाल विदेश भ्रमणमा जाँदा दुईपटकसम्म १५०० सय अमेरिकी डलरका दरले सटही सुविधा दिँदै आएकोमा अब २५०० डलर पाइने भएको छ ।
पहिले २५०० अमेरिकी डलर सटही सुविधा दिने गरेकोमा विदेशी मुद्रा सञ्चिति डरलाग्दो गरी घटेपछि गतवर्ष घटाएर १५०० अमेरिकी डलर कायम गरिएको थियो ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिमा ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिने’ उल्लेख छ ।









