वीरगन्ज– नापतौल यन्त्र तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठग्ने १ हजार ४ सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।
उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । वारा, पर्सा, रौतहट, मकवानपुर तथा चितवन कार्यक्षेत्र रहेको सो कार्यालयले आव २०७९/८० मा गरेको विशेष अनुगमन तथा नियमित नापतौल जाँचको क्रममा अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई कारबाही गरेकोे निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए ।
सो कार्यालयले उक्त अवधिमा १ हजार ३ सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच र नवीकरण गरेको थियो ।
कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा ५ सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो । सो कार्यालयमा ३ हजार ३ सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले बताए ।
गत आर्थिक वर्षमा ९ सय २ पम्पको नोजल जाँच, ४ सय ३५ भेहिकलको ट्यांक जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि एकल अनुगमन ३२ पटक तथा संयुक्त अनुगमन २८ पटक गर्नुका साथै १९ व्यावसायिक प्रतिष्ठानविरुद्ध अभियोगपत्र दायर गरिएको जनाइएको थियो । साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट १ करोड ४० लाख २३ हजार २६८ रुपैयाँ राजस्व गरेको छ ।









