काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने ठहर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालतका रजिस्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेको छ, ‘राष्ट्रपति वा अन्य उच्च पदस्थ ब्यक्तिहरुको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा उपलब्ध गराउने भन्ने विषयमा प्रस्तुत निवेदन अन्तरनिहित रहेकाके देखिँदा नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०।०३।१२ को निर्णयको अदालतले परीक्षण गर्न सक्ने नै देखिँदा यस अदालतका रजिष्ट्रारबाट मिति २०८०।०४।०५मा भएको दरपिठ आदेश बदर गरिदिएको छ ।’

सर्वोच्चको आदेशपछि अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने भनी गरेको निर्णय उत्प्रेणको आदेशले बदर गर्न माग गर्दै पेश गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । अधिवक्ता गिरीले गत असार २४ गते सर्वोच्चमा पेश गरेको रिट निवेदन अदालत प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो । पछि सर्वोच्चकी रजिस्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निर्क्योल हुने विषय नभएको दाबी गर्दै निवेदन दरपीठ गरेकी थिइन् ।

पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलाससमक्ष निवेदन दिएका थिए । यसमा अधिवक्ता लिलानाथ घिमिरे र रिट निवेदक गिरीले बहस गरेका थिए ।

राष्ट्रपति पौडेल छातिको समस्याको उपचारका लागि गत वैशाख ६ गते उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स० गएका थिए । उनी वैशाख १७ गते उपचार गराएर फर्केका थिए । सामान्य छाति दुखेको निहुँमा लाखौं खर्च गरेर विदेशमा उपचार गर्न गएपछि त्यसको चर्को विरोध भएको थियो । विरोध मत्थर पार्न त्यति बेला राष्ट्रपति कार्यालयको सचिवालयले वैशाख १७ गते वक्तव्य जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको बताएको थियो । पछि मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको भन्दै परराष्ट्र मन्त्रालयले असार १५ गते अर्थ मन्त्रालयसँग उपचार खर्च निकासा मागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय