काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन् ।
समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी संगठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने कामविरुद्ध अभियान थालिएको छ । तस्करीविरुद्ध जेहाद छेडिएको छ । यो कदम रोकिनेवाला छैन । अझै अगाडि बढ्छ । यो लडाइँ जित्नैपर्छ । यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन । नेपाली जनताको हितका लागि गरिएको हो ।’
भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उनले बताउ । प्रधानमन्त्री दाहालले भने, ‘यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ । हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेछन् । त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौं ।’ अहिलेको अभियानलाई उनले बेपत्ता, घाइते र अपांगको सपना साकार गर्ने लडाइँका रुपमा चित्रण गरे ।









