काठमाडौं– नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा १० हजारभन्दा बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।
गएको आर्थिक वर्ष २०७९–८० मा कुल ५६ हजार ३१९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फर्स्योट भएको छ भने २३ हजारभन्दा बढी मुद्दा फर्स्योट हुन बाँकी छ । त्यसको अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने ४६ हजार ९०२ वटा घटना दर्ता भएका थिए ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ता अघिल्लो आर्थिक वर्षको तुलनमा गतवर्ष बढेको बताए ।
उनका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६ हजारभन्दा बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा ९ हजारभन्दा बढी र कोशी प्रदेशमा ८ हजारभन्दा बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार सीआइबीमा ४३, काठमाडौं उपत्यकामा १६ हजार ६ सय २७, कोशी प्रदेशमा ८ हजार ७ सय २०, मधेस प्रदेशमा ९ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ हजार ६ सय ७९, गण्डकी प्रदेशमा ४ हजार १७७, लुम्बिनी प्रदेशमा ६ हजार ९९७, कर्णाली प्रदेशमा १ हजार ७२९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०३ उजुरी दर्ता भएको छ ।
प्रवक्ता कडायतले भने, ‘अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, त्यही बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ ।’ पैसा नभएको बैंकका चेक दिएको उजुरी परेको संख्या ह्वात्तै बढेको उनले बताए ।
प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार १३५ घटना दर्ता भएको छ । यस्तै ज्यानसम्बन्धी कसुर ८ हजारभन्दा बढी भएको छ । झन्डै ७ हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना ३ हजार ६ सयभन्दा बढी भएको छ भने ६ हजारभन्दा बढी संगठित तथा आर्थिक अपराधका छन् ।
त्यसैगरी ११ हजारभन्दा बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी ४ हजारभन्दा बढी अपराध भएको तथा सवारीसम्बन्धी २ हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।









