ललितपुर– बुङमती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग ६ महिना सञ्चालनमा हुन्छन् भने बाँकी ६ महिना वर्षातका कारण बन्द हुन्छन् । अहिले वर्षातका कारण बुङमती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा छन् । व्यवसायीका अनुसार तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।
बुङमती ट्रायल उद्योगद्वारा सञ्चालित युके इँटाभट्टाका व्यवस्थापक अजय बुढाथोकीका अनुसार तीन वर्षदेखिको ५० लाखभन्दा बढी इँटा बिक्री नभएर मौज्दात छ । कोभिडभन्दा पहिले दिनमा ५० गाडी इँटा बिक्री हुन्थ्यो भने अहिले दिनमा एकदेखि आठ गाडीमात्र बल्लबल्ल बिक्री हुने गरेको छ ।
करोडौं रकम खर्च गरेर उत्पादन गरेको इँटा बिक्री नभएर मौज्दात रहेपछि उद्योग सञ्चालक आउने हिउँदमा उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा छन् ।
बर्खाका कारण बन्द भएको उद्योग कात्तिकमा सञ्चालनमा ल्याउने हो भने दुई सय ५० कामदारका लागि करिब १ करोड पेस्की अग्रिम दिनुपर्ने हुन्छ । अहिले नै कामदार खोज्ने ठेकेदारलाई पेस्की दिएन भने पछि कामदार पाउन समस्या हुने उनीहरु बताउँछन् । इँटा बिक्री नहुँदा अहिले पेस्की पनि दिन नसकेको व्यवस्थापक बुढाथोकीले बताए । उनले भने, ‘देशमा आर्थिक मन्दीका कारण मान्छेले घर निर्माण गरेका छैनन् । आर्थिक मन्दीका कारण मान्छेले घर कम बनाएपछि त इँटा बिक्री हुने कुरै भएन । घाटामा उद्योग चलाउने कुरा भएन सकभर आउने वर्षदेखि उद्योग बन्द हुन्छ होला ।’
त्यसैगरी अर्को क्यापिटल ब्रिक इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित इँटा उद्योगको पनि २० लाख इँटा बिक्री नभएर मौज्दात छ । बिक्री नभएर यति धेरै इँटा मौज्दात रहेको क्यापिटलको पहिलो अनुभव हो । वर्षातको समयमा बन्द भएको इँटा उद्योग अब हिउँदमा कसरी सञ्चालन गर्ने विषयमा चिन्ता छ ।
क्यापिटल ब्रिक इन्डस्ट्रिजका व्यवस्थापक हरिचन्द्र बिडारीका अनुसार ५० रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ । जग्गाको भाडामात्र वार्षिक २० लाख तिर्नुपर्ने हुन्छ । उनले भने, ‘करोडौं खर्च गरेर भट्टा सञ्चालन गरेर इँटा उत्पादन गरेपनि बिक्री नहुँदा अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ ।’
व्यवस्थापक बिडारीका अनुसार हाल ढुवानीसहित एक केजी कोइलालाई ५० रुपैयाँ पर्न जान्छ । ६ लाख इँटा तयार गर्न २५ टन कोइला प्रयोग गर्नुपर्ने हुन्छ । ‘कोइलाको महँगी र कामदारको ज्यालालगायत सबै जोड्दा इँटा उद्योग सञ्चालन गर्न जटिल र खर्चिलो छ । उत्पादन भएको इँटा बिक्री भए त ठीकै हुन्थ्यो तर इँटा नै बिक्री हुँदैन,’ उनले भने ।
बुङमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा ‘सिजन’ अनुसार करिब दुई हजारभन्दा बढीले रोजगारी पाएका छन् । अहिले बर्खाले उद्योग बन्द भएकाले सबै कामदार घर फर्केका छन् ।









