काठमाडौं– एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९–८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा वार्षिक विन्दुगत आधारमा १० प्रतिशत बढी हो ।
बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत असार मसान्तसम्ममा उसको कुल कर्जा रकम २७१ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको निक्षेप ३१४ अर्ब ३१ करोड पुगेको छ ।
यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९–८० मा बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । स्वपुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २० वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात चौथो त्रैमाससम्ममा ०.८० प्रतिशत छ ।
बैंकले आर्थिक वर्ष २०७९–८० मा ६ लाखभन्दा धेरै नयाँ ग्राहक थप गर्दै ३८ लाखभन्दा बढी ग्राहक महानुभावमाझ सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।
बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको दाबी गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकभन्दा आफू अगाडि रहेको पनि उसको अनुमान छ ।
एनआइसी एसियाले ३६० शाखा, ५५९ एटिएम, १११ विस्तारित काउन्टर र ६१ वटा शाखारहित एकाइबाट सेवा दिइरहेको छ ।









