काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ आधा दर्जन संस्थासँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका ग्राहकहरुले पर्साको वीरगन्जस्थित मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरास्थित होटल क्विक – २० एन्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौंडास्थित रिगल हेटौंडा रिसोर्ट प्रालिका सेवामा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल प्रालिका सेवामा अधिकतम २० प्रतिशत छुट पाउने बताइएको छ ।

त्यसैगरी, हेटौंडाको विशुद्ध मोमोचामा १० प्रतिशत तथा चितवनको भरतपुरस्थित कबिलाश रिसोर्ट एन्ड फनपार्कका सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताइएको छ ।

बैंकले ग्राहकलाई छुट र सहुलियत उपलब्ध गराउन यसअघि पनि विभिन्न संस्थासँग सहकार्य गरेको छ ।









