चितवन– भरतपुर महानगरपालिका–९ स्थित टिकौली जंगलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोर्ड कलेज गैंडाकोटको बसले विपरीत दिशाबाट शव बोकेर आउँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।
सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए ।
ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमै छन् ।









