काठमाडौं– बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्ड ह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे । एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलोपटक हो । नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो संख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंकलादेशबाट १३ हजार ६२४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार ६९४ बंगलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार ४६६, फेब्रुअरीमा एक जहार ९०७ र जनवरीमा दुई हजार ४६८ बंगलादेशी पर्यटक नेपाल आएका तथ्यांक छ ।

यसअघि सन् २०२२ मा बंगलादेशबाट २५ हजार ३८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल ५ लाख ३४ हजार २०७ विदेशी पर्यटक भित्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय