काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीललगायत सूचक खराब देखिएका छन् । विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचक भने सकारात्मक छन् ।

सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.७४ प्रतिशत पुगेको छ ।

त्यस्तै गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ । गत आवमा आयात १६.१ र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा आयात २४.७ र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।

गत आवको अन्त्यसम्ममा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ दशमलव ६ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड थियो ।

गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ र अमेरिकी डलरमा १२ दशमलव एक प्रतिशतले बढेको छ । त्यस्तै, शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा थियो ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब रुपैयाँ छ ।

२०७९ असार मसान्तमा २००९.५ को विन्दुमा रहेको नेप्से सूचक बढेर २०८० असार मसान्तमा २०९७.१ मा पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय