वीरगन्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एन्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।

यस्तै पर्साको वीरगन्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स, ज्योति मनी चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए । प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९–८० मा १४ करोड ३९ लाख बक्यौता संकलन गरिएको छ ।

‘पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौं,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौं ।’ सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ थियो ।

नियमित बजार अनुगमन थालेपछि आव २०७९–८० मा करदातासमेत बढ्ेको आन्तरिक राजस्व कार्यालय वीरगन्जले जनाएको छ । आव २०७९–८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार ७५० र व्यक्तिगत १० हजार २२५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

योसँगै पर्सामा व्यावसायिक ४७ हजार ८८० र व्यक्तिगत ६६ हजार ५५५ गरी एक लाख १५ हजार ४३५ करदाता संख्या पुगेको जनाएको छ ।
यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगन्जले आर्थिक वर्ष २०७९–८० मा सात अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो अवधिमा अन्तः शुल्कतर्फ तीन अर्ब, आयकरतर्फ तीन अर्ब, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७४ करोड, ब्याजकरतर्फ चार करोड र घरबहाल करतर्फ पाँच करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए । सो कार्यालयले आर्थिक वर्ष २०७८–७९ मा आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय