काठमाडौं– यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अंकको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर २०१५.९८ विन्दुमा कायम भएको हो । विभिन्न २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता सेयर ३४ हजार ५०८ पटक खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९ बराबरको कारोबार भएको छ । १ सय ८१ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह १२२.४९ र उत्पादन तथा प्रशोधन समूह ८३.९१ अंकले बढेका छन् । बैंकिङ ४.७६, विकास बैंक ४३.१०, वित्त ३७.५८, होटल तथा पर्यटन ७०.५८ र जलविद्युत् समूह ३४.३० अंकले बढेको छ ।
त्यस्तै, लगानी समूह ०.५९, जीवन बीमा ५०.०५, लघुवित्त १६.५१, व्यापार १६.७२ र अन्य समूहको उपसूचक २१.७४ अंकले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ४.४२ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर सेयर २८ करोड ५९ लाख १९ हजार ६०६ बराबरको २ लाख ५३ हजार २६२ कित्ता किनबेच भएको छ ।









