बैतडी– जिल्लाको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । जहाज नआउँदा विमानस्थलको धावनमार्गलाई स्थानीयले टिकटक बनाउने ठाउँको रूपमा प्रयोग गर्न थालेका छन् ।

डेढ वर्षयता विमानस्थल बन्द हुँदा स्थानीयवासी हवाई सेवाबाट वञ्चित छन् । प्रत्येक बिहीवार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलमा हवाई उडान भएको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने स्थिति आएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, ‘यात्रु अभावकै कारण हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकोले यात्रु पाउन मुश्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।’

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि शुरूमा रू. तीन हजार सात सय भाडा कायम भएको थियो । पछिल्लो समय भने भाडा बढेर रू. पाँच हजार पुगेको थियो ।

हवाई सेवाका कारण यहाँको आन्तरिक एवं धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि विमानस्थल सञ्चालनमा आएको एक वर्षमै उडान बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीय दिनेश जोशीले बताए ।

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ,’ उनले भने, ‘नियमित उडानले आर्थिक विकासमा समेत सघाउ पुग्ने अपेक्षा थियो, डेढ वर्षदेखि जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

करोडौंका संरचना प्रयोगविहीन
डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै रू. १६ करोडका संरचना प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि हौसिएका स्थानीय अहिले हिस्स छन् ।

तीन वर्षअघि रू. ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करीब रू. पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आए बैतडीसँगै दार्चुलाका नागरिकलाई सजिलो हुन्छ । तैपनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीय लक्ष्मीदत्त पाण्डेयले बताए । उनी भन्छन्, ‘पर्यटनको ठूलो सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले आर्थिक समृद्धिमा पनि टेवा पुग्छ । त्यसका लागि चाँडोभन्दा चाँडो हवाई सेवा सञ्चालन गर्नुपर्छ ।’

नियमित उडान नहुने र भाडा पनि महँगो भएको भएकोले यात्रु पाउन मुश्किल हुने गरेको सेवाप्रदायकको भनाइ छ । यात्रुको सहजताका लागि भाडा समायोजन गरी नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताए । उनले भने, ‘भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्नु आवश्यक छ । भाडा समायोजन गरे यात्रु पनि पाइन्छ ।’

नियमित उडान नहुँदा राज्यको लगानी सदुपयोग नहुनुका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन् । नियमित हवाई उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताए । उनले भने, ‘नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ । नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ ।’

धावनमार्ग टिकटक बनाउने थलो
जहाज नआउँदा विमानस्थलको धावनमार्ग स्थानीयवासीका लागि टिकटक बनाउने थलोमा परिणत भएको छ । स्थानीयवासी अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने गर्छन् । धावनमार्गमा घाँस उम्रिन थालिसकेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेराबार, पर्खाल भत्किनुका साथै तारजाली पनि चुँडिन थालेका छन् ।

सशस्त्र द्वन्द्वकालमा आगजनी गरी संरचना ध्वस्त बनाइएपछि २०५२ सालयता विमानस्थल पूर्ण रूपमा बन्द थियो । २०३६ सालदेखि २०५२ सम्म नियमित उडान हुने यो विमानस्थल द्वन्द्वकै कारण बन्द भएको हो । २५ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी रुटमा हप्तामा एकपटक उडान शुरू गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय