काठमाडौं– नुवाकोटको विदुर नगरपालिका, वडा नं. ७, तुप्चेका श्यामबहादुर सापकोटाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी हानेका छन् । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट फर्कने क्रममा सापकोटाले यादवमाथि खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
४७ वर्षका सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । खुकुरी हान्नुअघि सापकोटाले रिपोर्टर्स क्लबमा सापकोटाको भाषण सुनेर बसेका थिए ।
सापकोटाले कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै गएर खुकुरी हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सापकोटालाई प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । सापकोटा आफूलाई राजावादी अभियन्ता भन्छन् ।
यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।









