काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसको निक्र्योल ननिस्केसम्म उद्योगहरुको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधि मण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् ।

उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुंगोमा पुग्न आफूले पहल गर्ने पनि बताए ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो ।

महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग, व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसाय जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासंघ अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन ।’

कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय