काठमाडौं– राजधानीको भृकुटीमण्डपमा मंगलबार सुरु भएको नााडा अटो सोमा एफ्टेक मोटर्सको नाममा स्टल राखी नेपाल आइसकेको एफडी मोटर्स ब्रान्डको इलेक्ट्रिक स्कुटरबारे भ्रम फैलाइएको आरोप एउटा कम्पनीले लगाएको छ ।
ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले एफ्टेकको स्टलबाट एफडी मोटर्सका लागि नेपालमा डिलर आवश्यकता परेको विज्ञापन गरी भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको हो ।
एफडी मोटर्सको डिलर ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि रहेको र उसले उक्त ब्रान्डका इलेक्ट्रिक स्कुटर आयात गरी विक्री वितरण गरिरहेको अवस्थामा अर्को कम्पनीले सोही ब्रान्डको लागि डिलर आवश्यकता भन्दै विज्ञापन निकाल्नु आपत्तिजनक रहेको ग्रन्थको भनाइ छ ।
ग्रन्थले वाणिज्य विभागबाट एजेन्सी लाइसेन्स लिई उत्पादक कम्पनीबाट स्कुटर ल्याएर गत वैशाख २३ गतेबाट एफडी मोटर्सको इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको बताएको छ ।
‘नाडालाई एफ्टेक मोर्टसको स्टलबाट सो इलेक्ट्रिक स्कुटर यथाशीघ्र हटाउन लगाउन हुन ध्यानकर्षण गराउँदछौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।









