सञ्जय कार्की (रौतहट)– एनआइसी एसिया बैंकका कर्मचारीले ऋण लगानी गर्दा ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको आरोप लागेको छ ।
रौतहटका तीनजनाले आफूहरु बैंक कर्मचारीबाट ठगिएको भन्दै असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपछि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताएका छन् । ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत एनआइसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैद्यनाथ एग्रिकल्चर कम्पनि प्राइभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगवती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८ का प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैयाँ ७ महिनाअघि लिए पनि फिर्ता नगरेपछि कानूनी कारबाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेका हुन् ।
कर्जा प्रवाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा प्रबन्धक आमोद गुप्तासँग बुझ्न खोज्दा उनी सम्पर्क बिहीन बनेका छन । कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि प्रबन्धक गप्ताले अशोका एग्रिकल्चर दुर्गाभगवती–१, का प्रोप्राइटर अशोककुमार साहसँग नौवटा खाली चेक लिएर २०७९ चैत १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्रकुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो ।
साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ विगाहा १७ कट्ठा जमिन धितो राखेर बैंकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नुपूर्व नै बैंक प्रबन्धकले खाली चेक लिएर विभिन्न व्यक्तिको नाम बाट ८५ लाख रुपैयाँ निकालेको उनको आरोप छ । यस्तै जय बाबा बैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि, चन्द्रपुर–१० को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कट्ठा र चन्द्रपुर–९ को घर सहितको २ कट्ठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहको छोरा राकेश साहको नाममा ७० लाख रुपैयाँ रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक गुप्ताले रकम निकालेका थिए ।
उनले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधवप्रसाद साह कलवारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले नदिएको बताइएको छ । एनआइसी एसिया बैंक प्रधान कार्यालयका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खनियाले आफूले यस विषयमा बोल्न नमिल्ने बताए ।









