काठमाडौं– बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पले दर्जनौं घरहरु भत्किएको र सर्वसाधारण आत्तिएको समाचार छ ।
प्राप्त जानकारी अनुसार बझाङ सदरमुकाम चैनपुरका कैयौं पक्की घर चर्किएका छन् । ग्रामीण क्षेत्रमा घरहर भत्किएको खबर आए पनि मानवीय क्षति भए नभएको विवरण आउन बाँकी छ ।
स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना परकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था छ । स्थानीयवासी घर छाडेर खुला ठाउँमा भेला भएको बताइएको छ ।
मंगलबार दिउँसो बझाङको चैनपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि मंगलबारै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।









