काठमाडौं– अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ । सर्वसाधारण सेयरधनी भने ५५ प्रतिशतले मात्रै सेयर खरिदका लागि रकम बुझाएका छन् ।

दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरको हकप्रद शेयर निष्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने छ । कम्पनीका अनुसार हालसम्म सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए ।

गौतमले भने, ‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइसकेको छ, सेयर भर्ने स्थानमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम संकलन हुने देखिएको छ ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ ।

१० अर्ब ५९ करोड चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । सेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थान प्रत्येकले २१ करोड १८ लाख रुपैयाँ रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणको तर्फबाट ५ अर्ब १९ करोड ९१ लाख चुक्ता हुनु पर्नेछ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार हकप्रद सेयरबापत चुक्ता गर्नुपर्ने छ । हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय