म्याग्दी– कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्यांग्रा विक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली २७० भेडाच्यांग्रा हिँडाएर १७औं दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्यांग्राको बजार खोज्दै बेनी आइपुगेका हौं,’ उनले भने, ‘यहाँ ल्याइपुर्याउँदा एउटा रोज्जा च्यांग्राको मूल्य ५० देखि ५५ हजार रुपैयाँ परेको छ ।’

उनीहरु जुम्लादेखि डोल्पा, रुकुम पश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्यांग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्यांग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्यांग्रा ल्याइएका थिएनन् ।

स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्यांग्रा बिक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्यांग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्यांग्रा बिक्री गर्न आएका हुन् ।

हालसम्म करिब १५ मात्र भेडाच्यांग्रा बिक्री भएको श्यामराज बोहराले बताए । ‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।’ दसैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्यांग्रा आइपुगेका हुन् ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्यांग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका कृषकका गोठबाट संकलन गरेर जोमसोम ल्याइएका च्यांग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन् ।

च्यांग्राको हुल भित्रिएसँगै दसैं आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले विशेष गरी लेकाली जडीबुटी खाने भएकाले दसैं तिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्यांग्राको माग बढी हुने गर्दछ ।

स्वादिलो र पोषिलो हुने भएकाले दसैंमा हिमाली भेडाच्यांग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए । तीन वर्षअघि प्रतिगोटा २५ हजारमा पाइने च्यांग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय