काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलोपटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।

मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दसैंको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रियतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । गत असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

‘विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ,’ विमानस्थलका महाप्रबन्धक तिवारीले भने । अन्तर्राष्ट्रिय उडानतर्फ ‘विन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक ३७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी झन्डै ५०० उडान भइरहेको बताए । ‘दैनिक ५०० हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रुको आवतजावत भइरहेको छ ।’

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । उक्त दिन बुद्ध एयरले मात्रै ८ हजार ९०० यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले २ हजार ६५१, श्री एयरलाइन्सले १ हजार ८३९ र सौर्य एयरले ३४० यात्रुलाई सेवा दिएका थिए ।

नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्विनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहे पनि जहाजको सीमितताले थोरै संख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघन्टा अन्तर्राष्ट्रियतर्फ १ हजार ५०० र आन्तरिकतर्फ हरेक घण्टा ५०० यात्रु व्यवस्थापन गर्ने क्षमता छ ।

वार्षिक कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु संख्या बढिरहेको विमानस्थलले जनाएको छ ।

नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाई मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट सुरु गरिएको थियो । पहिलोपटक ‘बिचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमानले कोलकाता उडान भरेको थियो । उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गरेका थिए । सन् १९६४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामकरण भएको थियो ।

यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय