महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री वढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने, ख्वाउने परम्परा मधेशमा छ । एक दिनअघि नै यस क्षेत्रका गाउँ, नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ ।

कोजाग्रत पर्वमा मखान र दूध खाने मैथिल परम्परा छ । मखान शक्तिवर्द्धक पौष्टिक आहार मानिन्छ । यसैगरी, कोजाग्रत पूर्णिमाका दिन सबैजसोले पान खाने भएकाले यस भेगमा एक दिनअघिदेखि नै पानका पातको बिक्री बढेको हो । अहिले पान पसले टाढाटाढाबाट पानका पात जुटाउन व्यस्त छन् ।

कोजाग्रत पूर्णिमाका दिन मखान खाएर पान खाने आम प्रचलन छ । पर्व विशेषलाई नै दृष्टिगत गरेर प्रत्येक जसो बजारमा आजदेखि नै मखानको बिक्री बढेको हो । महोत्तरीका बस्ती–बस्तीमा आज बिहानदेखि ‘मखान लेबै मखान’ (मखान लिनोस् मखान) भन्दै मानिसहरु घरघरैजसो हिँडेका भेटिन्छन् । त्यसैगरी, आफ्नै घरमा लगाइएको पान टिपेर बजारका पान पसलमा पात पुर्याउन ससाना बालबालिका पनि रमाइलो मान्दै हिँडेका देखिन्छन् ।

पर्वलाई लक्ष्य गरी सबैजसो बजारमा व्यापारीले मखान फिँजाएर राखेका छन् । मखानको बिक्री त १–२ दिनपहिले नै सुरु भएको भंगाहा नगरपालिका–५ सीतापुरबजारमा किराना पसल चलाउँदै आएका नागेन्द्र साहले बताए ।

जिल्लाका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर, बलवा, पिपरा र लोहारपट्टीसहितका बजारमा मखान किनबेच गर्नेको भीड लागेको छ । महोत्तरीका मटिहानी र रामगोपालपुर नगरपालिका क्षेत्र मखान उत्पादनका उर्वर क्षेत्र मानिन्छन् । पर्वविशेषले आफ्नो उत्पादनले महत्त्व पाउँदा मखान किसान यो पर्वका बेला खुसी देखिन्छन् ।

कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने र साँझपख जुन घरमा दीप प्रज्वलित गरिएको छ, त्यहाँ प्रवेश गर्ने विश्वासले घरघरमै दीप प्रज्वलित गरेर देवीलाई पनि मखान र पानसहितका सामग्रीले पूजा आराधना गरिने मैथिल परम्परा छ । कोजाग्रतमा रातभरि जाग्राम (जागा) बस्नुपर्ने पुरानो विश्वास भएकाले कोजाग्रत दिनका लागि यस क्षेत्रमा नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुन्छन् ।

विभिन्न पर्वमा खास महत्त्वका फरक फरक पूजा सामग्री र नैवेद्य चढाउने परम्पराभित्र कोजाग्रतमा भने पान र मखानको महत्त्व हुने गरेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । पान र मखान दुवै सम्पन्नता र सौन्दर्यका प्रतीक मानिन्छन् । त्यसैले कोजाग्रत पर्वमा यिनको महत्त्व बढेको उनको भनाइ छ ।

कोजाग्रत पर्वमा कहिल्यै पान नखाने व्यक्तिले पनि विधिकै लागि पान खाने गरेका छन् । पान सौन्दर्य र सम्पन्नतासँगै प्रसन्नताको प्रतीक पनि मानिने मैथिल जनविश्वासले पर्वविशेषमा यसको महत्व बढेको ८० वर्षीय प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय