काठमाडौं– नेपालमा पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्केको छ । गएको अक्टोबरमा १ लाख १७ हजारभन्दा धेरै पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार तीन सय ६ पर्यटक नेपाल आएका छन् । यो संख्या कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को अक्टोबरको तुलनामा ६ प्रतिशतले धेरै हो ।

एकै महिनामा यो संख्यामा पर्यटक भित्रिएको नेपालको पहिलो घटना पनि हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को अक्टोबर २०१९ मा १ लाख १३ हजार पर्यटक हवाई मार्गबाट आएका थिए ।

सन् २०२० को फेब्रुअरीदेखि कोरोना महामारीका कारण पर्यटक आगमन खस्किएको थियो । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० पर्यटक आएका छन् ।

यस्तै, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक आएका छन् ।

यो अंग्रेजी वर्षको १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय