
काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न भएको छ । ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०–८१ को बाँकी समयावधिको लागि सेल्स रणनीति तर्जुमा गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसमा योगदान गर्ने सबैलाई उनले धन्यवाद ज्ञापन गरे । यो कम्पनी आफैंमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको उनको भनाइ छ ।
अहिलेको विषम परिस्थितिमा कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत हिस्सा ओगट्दै बजारको लिडरको रूपमा आफूलाई स्थापित गराएको भन्दै उनले यसमा योगदान गर्ने सबैको मुक्तकण्ठले प्रसंशा गरे । विभिन्न परिस्थितिबाट गुज्रिँदै र त्यसबाट पाठ सिक्दै आजको अवस्थामा आएको कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्व भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफू विश्वस्त रहेको अग्रवालले बताए । सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहँुचलाई आम नागरिकबीच पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारी तथा अभिकर्तालाई चालू वर्षको पहिलो त्रैमासको कार्यसम्पादनको लागि धन्यवाद र चालू वर्षको व्यापार लक्ष्य हासिल गर्न दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।
कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउन डिजिटलाइजेसनको कार्य थालनी गरिसकेको उनको भनाइ छ । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवा प्राप्त गर्न शाखा धाउनुपर्ने अवस्थाको अन्त्य हुने र बीमितले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने उनले बताए ।
कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको विरासतलाई निरन्तरता दिन कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको नेसनल सेल्स हेड उमापति पोखरेलले बताए ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यवाद ज्ञापन गरे । साथै जीवन बीमा बजारको हिस्सालाई थप बृहत् बनाउन पनि उनले आग्रह गरे । नेपाल लाइफ मार्केट लिडर भएको कारण यस कम्पनीको जिम्मेवारी पनि अधिक रहेको र सोलाई मनन गर्दै कार्यसम्पादन गर्न सबैमा अनुरोध गरे ।