काठमाडौं– ट्राफिक नियम उल्लंघनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक हप्तामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैंलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए ।
चाडवाडका समयमा नियम उल्लंघन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार पछिल्लो २४ घण्टामै २२ सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै ३०० सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने १५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए ।
यसअघि यही कात्तिक १५ गते २ हजार ४, कात्तिक १४ गते १ हजार ५२७ र १३ गते १ हजार ५८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते १ हजार १५५, कात्तिक ११ गते १ हजार ७६८, १० गते १ हजार ३५५ र कात्तिक ९ गते १ हजार ९७ चालक कारबाहीमा परेका थिए ।
प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लंघनविरुद्ध कारबाही जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।









