काठमाडौं– सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीले चेतन मानन्धरलाई हत्याका दोषी योगराज ढकाल (रिगल)लाई बिहीबारै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको बाँकेका एसपी सुवासचन्द्र बोहराले जानकारी दिएका छन् । सर्वोच्च अदालतले रिगलले भुक्तानी गर्न बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन उनलाई थुनामा राख्न आदेश दिएको थियो ।
नेपाली कांग्रेसका कार्यकर्ता ढकालले पहुँचका आधारमा गत असोजमा आममाफी पाएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको कैद मिनाहा गरिदिएका थिए ।
ढकालले नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी मारेका थिए । मानन्धरकी पत्नी भारतीले रिगलको रिहाइविरुद्ध सर्वोच्चमा रिट दिएकी थिइन् ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको थियो ।









