काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यही फागुन २३ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड बराबरको आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा ६६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ५४ करोड रहेको छ भने सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड पुग्नेछ ।

केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय