काठमाडौं– शुक्रबार मध्यरातमा पश्चिम नेपालमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाले जिल्लाका विभिन्न स्थानमा गरी ९२ जनाको ज्यान गएको पुष्टि भएको बताए ।

उनका अनुसार भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाबासीको ज्यान गएको छ । कम्तीमा ५५ जना घाइते भएका छन् ।

रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए । उनका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको छ ।

रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । तीमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय