काठमाडौं– गैरआवासीय नेपाली संघले जाजरकोट भूकम्पपीडितलाई तत्काल राहत स्वरुप १० लाख रुपैयाँ दिने भएको छ । संघले पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
संघले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा गरेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।
गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्धर, राहत र पुनर्निर्माणमा सदा झैं सरकारसँग सहकार्य गर्न तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई संघले आग्रह गरेको छ ।
संघको विज्ञप्तिमा संघका अध्यक्ष डा. बद्रि केसी र महासचिव गौरीराज जोशीले हस्ताक्षर गरेका छन् ।









