अर्घाखाँची– अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९, गोखुंगा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुंगा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतितसिंह राठोरले बताए ।
यही कात्तिक १४ गते बीस रुपँैया नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी बृद्धा भुसाललाई मुक्का र खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।
हत्यापछि बृृद्धासँग भएको नगद र सुनका गरगहनासमेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गराएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको थियो ।
यसैगरी अर्घाखाँचीको जलुकेमा २० वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०६० फागुन १३ गते साबिक जलुके गाविस–६ हाल शीतगंगा नगरपालिका– ८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गाम निवासी केशवलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतितसिंह राठोरले बताए ।
रोल्पाको सुनछहरी गाउँपालिका–३ को बाहिरी गाममा लुकिछिपी बसेको थाहा भएपछि ठाडास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । मृतक नन्दाको एकान्त स्थानमा रहेको घरमा कोही नभएको बेला उनलाई डरत्रास देखाएर पैसा माग्दा नदिएपछि केशवलालले हत्या गरेका थिए । अहिले उनीमाथि जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।









