काठमाडौं– नेपाल टेलिकमको आम्दानी पोहोरको तुलनामा घटेको विवरण सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो तीन महिनामा कम्पनीको आम्दानी पोहोरको तुलनामा ३९ करोड रुपैयाँभन्दा धेरैले घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत साउनदेखि असोजसम्मको अवधिमा कम्पनीको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ छ ।

यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको तीन महिनाको कम्पनीको आय ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ थियो।अघिल्लो वर्षको तुलनामा यसपािल ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले आम्दानी घटेको टेलिकमको भनाइ छ ।

कम्पनीको कूल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको आय ९ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा ४९ करोड २५ लाख २१ हजार (५.४३ प्रतिशत) ले कम हो ।

कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ छ । उक्त रकम गत आवको सोही अवधिमा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५ रुपैयाँ ५ पैसा छ । चालु आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोगक रहेको टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर पर्नुका साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय