काठमाडौं– पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा छ ।

‘भोलि सोमबार र कात्तिक २८ गते मंगलबार देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । पहाडी भूभागमा पातलो बादल लाग्ने सम्भावना रहेकाले एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ,’ उनले भने ।

मौसमविद् लामिछानेले अबको केही दिन नयाँ मौसमी प्रणाली आउने सम्भावना नरहेकाले तिहारको समयमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान रहेको जानकारी दिए । उनले भने– पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अलिअलि बादल आउने सम्भावना रहे पनि तिहारको समयमा त्यस्तो ठूलो मौसमी प्रभाव गर्ने देखिदैन ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय