काठमाडौं– सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने पनि मन्त्री शर्माले बताइन् । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ ।
टिकटकले सामाजिक सद्भाव खल्बल्याउने, अश्लीलता प्रवद्र्धन गर्न र राष्ट्रियता कमजोर बनाउन यसको प्रयोग भएको निष्कर्षपछि सरकारले यो कदम चालेको हो ।
यसैबीच, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक बन्द गराउने प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र आजैदेखि यसलाई बन्द गराइने उनले बताएका छन् ।
‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरेको पनि उनले बताए ।









