चितवन– धेरै मानिसको ज्यान लिएको जंगली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार ध्रुवेलाई नियन्त्रणमा लिन दुई टोली परिचालन गरिएको छ ।

‘हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि त्यसलाई नियन्त्रणमा लिन प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ,’ उनले भने । ध्रुवे देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डार्ट’ गर्ने उनले बताए । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिए । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनको भनाइ छ। यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । ‘हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौं,’ उनले भने । निस्कनै परे टर्च लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । ध्रुवे हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२ भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय