दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए ।

उनका अनुसार सुक्खा बन्दरगाह निमार्णका लागि ५ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सुक्खा बन्दरगाह भारतको पूर्ण लगानीमा बन्ने उनले बताए ।

‘सुक्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ,’ इन्जिनियर केसीले भने, ‘सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने डिपिआरमा उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब २ सय ८० बिघा जमिन प्रयोग हुनेछ ।’

\सुक्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ । सुक्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृति भइसकेको छ । ‘१०–१५ दिनभित्रै प्रतिवेदन मन्त्रालयमा पेस हुन्छ,’ इन्जिनियर केसीले भने, ‘मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि निमार्ण कार्य अघि बढ्नेछ ।’ बन्दरगाह क्षेत्रमा १ हजार ९ सय ८९ रुख कटान गर्नुपर्ने हुन्छ ।

२०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए ।

‘यो नाका चालु भए नेपाल भारतबीच सहज आवागमन हुने र लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ,’ उनले भने, ‘यहाँ औद्योगिक र कृषि क्षेत्रको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ । दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्वतयारीमा लाग्न जरुरी छ ।’

यहाँका उत्पादन निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी रहेको उनको भनाइ छ । यसपटक सरकारले सुक्खा बन्दरगाह निर्माण गर्नेमा यहाँका व्यवसायी आशावादी छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने बताए । ‘अहिले लामो बाटो प्रयोग गरेर यहाँ सामान ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो नाकाबाट भारतका औद्योगिक क्षेत्र छोटो दूरीमा रहेकाले यहाँको व्यापारको लागत र समय घटाउछ ।’ यो नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार फस्टाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय