काठमाडौं– सन् २०२३ को ११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३०८ पर्यटक हवाईमार्गबाट नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अक्टोबरमा एक महिनाको अवधिमा हालसम्मकै बढी १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए । उनले भने, ‘११ महिनामा ९ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।’

पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलंक, बंगलादेश रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा कुल पर्यटकमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार ४४३ जना पर्यटक नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना आउँदा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय