काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पत्रिकाविरूद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । लामिछानले कान्तिपुरले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग दाबी गरेका छन् ।

लामिछानेले आफ्ना वारेस अधिवक्ता अफताब आलममार्फत मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर र पत्रिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

पछिल्लो समय कान्तिपुरले सहकारीले सर्वसाधारणको बचत फिर्ता नगर्नुमा रविको समेत संलग्नता रहेको आशयका समाचार प्रकाशित गरेपछि दुईबीच मनमुटाव बढेको छ । रविले ती समाचारहरुको खण्डन गर्दै आएका छन् । लामिछानेले आफ्नो बदनाम गरेकाले कानुनी उपचारमा गएको उल्लेख गरेको फेसबुकमा उल्लेख गरेका छन् ।

‘मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो बचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरूद्ध कानुनी उपचारमा गएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय