काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकको बजेट घाटा ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबर राजस्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो । ६ महिनामा कर राजस्वतर्फ ३३.९८ प्रतिशत र गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत असुली भएको छ ।

चालु आर्थिक वर्षमा ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत २.७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत ४ खर्ब ३७ अर्ब ३८ करोड १२ लाख रुपैयाँ खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय