काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउपर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकास वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो ।
निजलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निज तामाङले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्यान्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी ६ सय जनाभन्दा बढी व्यक्तिहरुबाट करोडौं रकम ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
निजले विसं २०७३ सालबाट अयुष म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ, साथै २०७७ सालमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० वैशाखमा आफूलाई विकास वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ ।
उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाइवाको नामबाट बैंक खाता खोली आफैले हस्ताक्षर गरी वैंक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडाका लागि रु १८ लाख, माल्टाका लागि ८ लाख, पोल्यान्डका लागि ७ लाख र क्रोसियाका लागि ६ लाख ५० हजारका दरले ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिनुभयो । उनका अनुसार निजले ६ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको देखिएको छ ।
तामाङले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत सेयर, हुन्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको तथा ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।









