सिरहा– सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साह विभिन्न रङ र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङका आकर्षक काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

उनी भन्छन्, ‘सात वर्ष पहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ । परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’

उनले एक किलोसम्मको काउली फलाएका छन् । ‘यसको रङ र स्वाद फरक भएकाले बजारमा पुर्याउनासाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करीब पाँच गुणा बढी पर्छ,’ किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’ उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय रुपैयाँका दरले बिक्री गरेको बताए ।

खेतमा रंगीन काउली हेर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । ‘सबैतिर यो काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ,’ पेशाले शिक्षक कुशेश्वर यादवले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय