
काठमाडौं– कुनै समय शाखा विस्तार, कर्जा विस्तार लगायतमा आक्रामक बनेको एनआइसी एसिया बैंकका लागि अहिले त्यही कदम अपिशाप साबित हुन थालेको छ ।
पछिल्लो समय बैंकको खराब कर्जा डरलाग्दो स्तरमा पुगेको छ भने बढ्दो सञ्चालन खर्च धान्न नसकेर शाखा कार्यालयहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जा झन्डै दोब्बर भएको छ । गत असार मसान्तमा ०.६१ प्रतिशत रहेको बैंकको खराब कर्जा पुस मसान्तमा १.१९ प्रतिशत पुगेको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म एनआइसी एसिया बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको देखिन्छ । सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँभन्दा धेरै खराब कर्जामा रुपान्तरण भएको छ । यसले बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा समेत प्रभावित भएको छ ।
पोहोर पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर कार्यसम्पादनका कारण पोहोरको तुलनामा ४१.८४ प्रतिशतले नाफा घटाएको छ । गत पुससम्ममा बैंकले जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको छ ।
खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य सबै जसो आम्दनीका स्रोतहरु गुमेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत नराम्रोसँग खुम्चिएको छ ।
खराब कर्जा बढ्दै जाँदा बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध दायर गरेको मुद्दाको संख्या ८३ छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । यो अन्य वाणिज्य बैंकको तुलनामा उच्च हो ।
बैंकले लगानी गरेको ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको ढोका ढक्ढक्याउनु परेको घटनाले बैंकले हचुवाका भरमा लगानी गरेको संकेत गरेको छ । सर्वसाधारणको रकम यसरी हचुवा ढंगले लगानी गर्ने प्रवृत्तिले भयावह परिणाम ल्याउन सक्ने जानकार बताउँछन् । ‘विगतमा एनआइसी एसिया बैंकले अपनाएको आक्रामक शैलीले कुन बेला बैंक डुबाउँछ भन्ने आशंका गरिएको थियो । अहिले बैंकको वित्तीय स्वास्थ्यले त्यो आशंकालाई अझ बल पुर्याएको छ,’ एकजना पूर्वबैंकरले भने ।
उता, बैंकले ५० वटा शाखा तथा विस्तारित काउन्टर बन्द गर्ने अनुमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको पाइएको छ । एनआइसी एसिया बैंकको अहिले देशभर ३५९ वटा शाखा छन् । बैंकले लामो समयसम्म फाइदा दिन नसकेका शाखा र काउन्टर सेवा बन्द गर्ने रणनीति लिएको हो ।
बैंकका क्रियाकलाप संकास्पद देखिएपछि नेपाल राष्ट्र बैंकले यसको स्थलगत अनुसन्धान पनि सुरु गरेको छ । राष्ट्र बैंकका सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकालले नियमित प्रक्रिया अनुसार स्थलगत सुपरिवेक्षणको काम शुरु भएको बताए ।
अनुपालनामा चुकेकै कारण विगतमा राष्ट्र बैंकले यो बैंकलाई लाभांश वितरणमा समेत रोक लगाएको थियो ।