काठमाडौं– नेपाल चिया विकास निगम लिमिटेडका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघई सम्मानित भएका छन् । चीनमा सम्पन्न आठौं एसिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता निगममा कार्यकारी अध्यक्ष रहेका संघईलाई कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सम्मान गरेका हुन् ।
माघ २६ र २७ गते नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा नारायणी नदी किनारमा सम्पन्न नेपालमा उत्पादित चियाहरुको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रममा संघईलाई सम्मान गरिएको हो ।
कार्यक्रममा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहभागिता थियो । सो अवसरमा विभिन्न कम्पनीबाट उत्पादित चियाको प्रदर्शनी एवं टेस्टिङ कार्यक्रम पनि राखिएको थियो । प्रदर्शनीको उद्घाटन मन्त्री भुसालले गरेका थिए ।
चीनमा सम्पन्न प्रतिस्पर्धामा नेपाल चिया विकास निगम लिमिटेडको कन्याम बगानको चिया गोल्ड विजेता बनेको थियो । प्रत्येक वर्ष चीनमा विश्वभरका १७ चिया उत्पादक देशहरुबीच हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट निगमले सहभागिता जनाएको थियो । निगमको कन्याम चिया वगानले २०२३ को उत्कृष्ट चिया भई गोल्ड सम्मान पाएको हो ।
निगमले झापा र इलाममा रहेका आफ्ना ७ वटा चिया वगानबाट चिया उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । निगमबाट उत्पादित चिया नेपालीहरु माझ निकै नै लोकप्रिय छन् । अन्तरराष्ट्रिय स्तर मै परिचित टोकला चियाको उत्पादक पनि निगम नै हो । उक्त पुरस्कारले नेपाली चियालाई अन्तरराष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न सघाउने निगमको अपेक्षा छ ।









