काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको जानकारी दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीचको छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो ।
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा आय र व्यय बजेट वक्तव्यको भन्दा कम हुने अनुमान गरिएको विषयलाई सञ्चार माध्यमले बजेट कटौतीको रुपमा व्याख्या गरेको भन्दै त्यसको खण्डन गर्न शुक्रबार बिहान अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् ।
अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षाबाट बजेट कटौती गरेको नभई प्रारम्भिक अनुमान अनुसार खर्च हुन र आम्दानी हुने सम्भावना नरहेको अनुमान मात्र गरिएको बताए । सार्वभौम संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने पनि उनले बताए ।
अर्थमन्त्री डा. महतले सञ्चारमाध्यममा आएका कुराले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको स्पष्ट पारे । बजेटको मध्यावधि मूल्यांकन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिनअघि सार्वजनिक भएको थियो ।
साथै उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको पनि जानकारी गराए । मन्त्री महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताए । सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरेको थियो ।









