टीकापुर– बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ । बालबालिकाको आनीबानी र व्यवहार विकृत हुँदा चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ ।

समय बदलिँदो छ । समयसँगै हरेक कुरा बदलिँदै जान्छन् । यसरी समयसँगै हरेक कुरा बदलिँदै जानु स्वाभाविक हो तर मानिसमा आएको यो अस्वाभाविक बदलावलाई बूढापाकाहरु अस्वाभाविक मान्छन् । मानिसमा नैतिकता र अनुशासनलगायत धेरै कुराले ठाउँ नै छोडिसकेको कैलालीका देवीराम जैसी बताउँछनु । ‘अहिलेका बालबालिकामध्ये निकै कममा मात्र अनुशासन देखिन्छ । कतिपय बालबालिका चोरी, डकैती र आपराधिक गतिविधिमा संलग्न भएका देखिन्छ,’ उनी भन्छन्, ‘हाम्रा पालामा हामी अभिभावको निगरानी र नियन्त्रणमा हुन्थ्यौं, अभिभावकले भनेको सबै मान्थ्यौं, अचेलका बच्चा त उग्र देखिन्छन् ।’

ब्राह्मण समाज नेपाल टीकापुर शाखाका अध्यक्ष रामप्रसाद रिमाल उपाध्याय पनि आपूm युवा र वयस्क हुँदा समाज, आफन्त, नैतिकताका विषयमा निकै संवेदनशील रहेको सम्झन्छन् । ‘ठूलाबडाप्रति बढो आदर र सम्मान गरिन्थ्योे,’ उनी भन्छन्, ‘आजभोलिका युवाले संस्कार, संस्कृति र आदर सबै कुरा बिर्सिएजस्तो लाग्छ । बालबालिकामा संस्कार नभए समाज कस्तो होला ? चिन्ता लाग्न थालेको छ ।’

अध्यक्ष रिमाल बालबालिकाको जीवन सुन्दर बनाउने प्रयासमा सबै लाग्नुपर्नेमा जोड दिन्छन् । ‘मानवीय चोला भनेको एकपटक पाइने हो । मानिसले धर्तीमा रहँदासम्म राम्रो गर्नु, सबैको भलो गर्न र एउटा मानवले गर्नुपर्ने सबै खालका कर्म गर्नुपर्छ,’ उनी भन्छन्, ‘आफ्नो धर्म, नैतिकता, आचरण र व्यवहार सबैभन्दा स्वयं नै व्यक्ति खुसी हुनका लागि चाहिन्छ । संस्कारी मानिसले अरूलाई पनि खुसीसँग जिउन दिन्छ, त्यसैले अहिलेका बच्चाका अस्वाभाविक व्यवहार देख्दा चिन्ता लाग्छ ।’

पूर्वशिक्षक बलबहादुर रावलको पनि अहिलेका युवाप्रति त्यस्तै गुनासो छ । आफू युवा हुँदा समाजप्रति निकै जिम्मेवार रहेको बताउने उनी अहिलेका युवाले परिवर्तनका नाममा विकृत व्यवहार अँगाल्दै गएको ठान्छन् । ‘बालबालिका गलत बाटो अँगालेका देख्दा मन पोल्छ । विकृति जति सबै किशोरावस्थाबाटै अँगाल्दै आएको देखिन्छन्,’ उनी भन्छन्, ‘यस्ता व्यवहार न्यूनीकरण गर्न सरोकारवाला सबैको दायित्व हुन्छ । अब छोराछोरी राम्रा बनाउन जसले सक्छ त्यही मानिस भोलि सम्पन्न र खुसी हुनेछ ।’

पूर्वशिक्षक रावल अभिभावकले बालबालिकालाई खेलका माध्यमबाट होस् या यस्तै सृजनात्मक क्रियाकलापमा व्यस्त बनाइराख्न जरुरी रहेको बताउँछन् । अहिलेका युवापिढी देखेर सावित्रा रावल पनि अचम्मित छिन् । उनी अहिलेका युवायुवतीको आचरण र व्यवहार देखेर निकै चिन्तित छिन् । ‘हाम्रा पालामा पढाइबाहेक घाँस दाउरा काट्ने, गाईवस्तु चराउने र बुबाआमाले भनेकोबाहेक अन्य कुनै पनि काम गर्न आँट आउँदैनथ्यो,’ उनी भन्छिन्, ‘अहिलेका युवाको व्यवहार र बानी देखेर डर लाग्छ ।

उनीहरू गलत क्रियाकलापमा संलग्न भएर आपराधिक कार्य गरिरहेका देखिन्छन् । बालबालिकालाई अभिभावकले नियन्त्रण गर्न सकेका छैनन् ।’ समय सधैं स्थिर रहँदैन । समयसँगै आफूलाई परिवर्तन गर्नु स्वाभाविक हो तर परिवर्तनका नाममा संस्कार, संस्कृति, आचरण नैतिकता र अनुशासनजस्ता कुरा भुल्ने नहुनेमा बूढापाकाको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय