काठमाडौं– अरेट इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा केही समयअगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा ल्याएको छ । सधैं लक्जरी गाडी ल्याएर ग्राहकको चाहना पूरा गर्न प्रतिबद्ध रहेको दाबी गर्ने उक्त अन्तर्राष्ट्रिय बजारमा आएको केही महिनाभित्रै मोडल थ्री नेपाल ल्याएको बताएको छ ।
टेस्लाले पहिलोपटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको मोडल थ्री लग्जरी इलेक्ट्रिक कार वर्गमा सर्वोत्कृष्ट स्थानमा पर्ने दाबी गरिएको छ । टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुनेमध्येको एक हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्रीको रिफ्रेस्ड भर्सन हो ।
फराकिलो ३६० डिग्रीको दृश्य देख्न सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बियन्ट लाइट, भेगन सिट, फ्युचरिस्टिक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी आवाज भित्र नजाने क्याबिनका कारण नयाँ मोडल थ्रीले विश्वभर चर्चा कमाएको छ ।
पहिलोपटक कुलिङसहितको भेन्टिलेटेड सिट रहेको यो भर्सनमा प्रयोग गरिएको सिट मेटेरियल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दागप्रतिरोधी (स्टेनलेस) लेदर भएको बताइएको छ । एरोडाइनामिक र वाटर सिंक प्रुफसहितको विशेषता रहेको यो कारले सुरक्षाको दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एनएचटीसीए) बाट ५ स्टारको रेटिङ प्राप्त गरेको छ ।
कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लिम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा छ । ‘ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेसन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यो मोडलमा कुनै पनि बटम ड्यासबोर्डमा छैन । यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध छ । गियर सिफ्टिङ इन्डिकेटर प्रयोगलगायतका फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इन्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ ।’
पछाडि बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उक्त मोडलमा पाउन सकिने बताइएको छ । सबै लाइट एलइडी रहेको उक्त कारमा १९ इन्चको आकर्षक अलोय ह्विल दिइएको छ । यो कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध हुने बताइएको छ । एडास फिचरमा पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा रहेको कम्पनीको भनाइ छ ।









