काठमाडौं– प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
सेन्चुरी कमर्सियल बैंकमा सीईको रुपमा रहँदा रहँदा ऋण हिनामिना गरेको प्रकरणमा उनलाई सीआईबीले पक्राउ गरेको हो ।
न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमलाई पनि सीआईबीले पक्राउ गरेको छ । न्यौपाने र गौतमले सेन्चुरी बैंकमा सीईओ हुँदा कानूनविपरीत कर्जा प्रवाह गरेको पाइएपछि पक्राउ गरेको सीआईबीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि प्रहरीले गौतम, न्यौपानेसहित १० जनालाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले कमसल धितोमा कर्जा प्रवाह गरेर सर्वसाधारणको रकम हिनामिना गरेको आरोप छ ।
सेन्चुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओ बनेका थिए ।









