काठमाडौं– नेपालमा हिउँद सकिएर प्रिमनसुन अवधि सुरु भएको छ । आकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । प्रिमनसुन सुरु भएलगत्तै काठमाडौंमा धेरै पछि बाक्लो वर्षा भएको छ ।

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रवारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजको बदली र वर्षालाई विज्ञहरुले प्रिमनसुन अवधि सुरु भएपछिको पहिलो भनेका छन् ।

मुख्यगरी पश्चिमी वायु र अरेबियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ ।

काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेकोमा दिउँसो साढे १२ बजेपछि उपत्यकाका केही इलाकामा बाक्लै पानी परेको छ । मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँद थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय