काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो हुन लागेको चेम्बरको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको बताइएको छ ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बरको विश्वास छ ।

उक्त मेलामा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिबिसन कन्फरेन्स समेत हुने बताइएको छ । एक्स्पोमा नेपालमा रहेको रूसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।

यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीले प्रदर्शनीमा सहभागिता जनाउनेछन् । प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारीसाधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनीमा रहने छन् ।

नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रुपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक तथा लोयल्टी पार्टनरका रुपमा अर्न सिक्का रहेका छन् । प्रदर्शनीमा अग्नि सुरक्षा उपकरणको सहयोग हिटको प्रालिले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय