काठमाडौं– डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागी रणनीतिक सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधा उपभोग गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
अब गरिमा विकास बैंकका ग्राहकले बिनाझन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाको लाभ उठाउन सक्ने बताइएको छ ।
बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।
उक्त सम्झौताबारे टिप्पणी गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५० भन्दा बढी बैंकसँग हातेमालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरूप गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिनेमा हामी विश्वस्त छौं ।’
खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल भुक्तानी र अन्य थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराउँदै आएको बताएको छ ।
गरिमा विकास बैंकले १२३ शाखा कार्यालय र ५१ एटिएममार्फत देशभर सेवा दिइरहेको छ ।









